हिरासतमा रहेका सैनिक अधिकारीहरुलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ- सर्वोच्च अदालतले सैनिक हिरासतमा रहेका दुई अधिकारीहरु कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

हरि फुयालको एकल इजलासले बुधबार सैनिक हिरासतमा रहेका दुई अधिकारीहरु शाह र तिमिल्सिनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

- Advertisement -
Ad image

सैनिक विद्रोहको आरोपमा कोर्टमार्सलमा परेका शाह र तिमिल्सिनामाथि लगाइएको आरोपको सक्कल फाइलसहित उनीहरुलाई अदालतमा उपस्थित गराउन अदालतले सेनालाई आदेश दिएको हो।

महेन्द्रजंग शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

सेनाका मेजर जनरल प्रेम शाही विगत दुई महिनादेखि एकल हिरासतमा रही ‘कोर्टमार्सल’ प्रक्रिया सामना गरिरहेका छन् भने दुई दिनअघि कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई विद्रोहको षड्यन्त्रको आरोपमा हिरासतमा राखिएको छ। उनीहरुलाई सैन्य प्रहरीद्वारा गिरफ्तार गरेपछि कहाँ राखिएको छ, त्यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन।

तीनैजना अधिकृतहरु पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट मानिन्छन्। मेजर जनरल शाहीले थापाका सैन्य सचिवका रुपमा पनि जिम्मेवारी सम्हालेका थिए।

थापा निकट अर्का मेजर जनरल अनन्तबहादुर कार्कीलाई नियमित पदावधि थप नगरी सेवानिवृत्त गराइएको थियो। सेनाका एक वरिष्ठ अधिकृतका अनुसार अन्य दुई अधिकृतहरुलाई पनि महत्त्वपूर्ण स्थानबाट हटाई अस्थायी पोस्टिङ दिइएको छ।

वर्तमान सैनिक नेतृत्व निकटका व्यक्तिहरुबाट प्रतिशोधको राजनीति सुरु भएको आरोप लगाउँदै कोर्टमार्सलको जिम्मा विवादास्पद व्यक्तिहरुलाई दिइएको आरोप पनि लगाइएको छ।

मेजर जनरल शाहीलाई सेवानिवृत्तको पत्र बुझेपछि हिरासतमा लिई कोर्टमार्सल प्रक्रिया सुरु गरिएको स्रोतले बतायो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्