प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको प्रक्रिया शुरु भएको बताएका छन् । उनले अव एमाले प्रतिपक्षमा पुगेको समेत बताए । आज राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले राप्रपा सरकारबाट बाहिरिए सँगै यो प्रक्रिया शुरु भएको समेत बताए ।
प्रधानमन्त्री निकट श्रोतका अनुसार हिजो ८ दलबीच सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनलाई राजिनामा दिन भनेका थिए । एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछोड्ने निर्णय गरेपनि प्रधानमन्त्री सरकार पुनर्गठन गरेर एमालेलाई सरकार बाहिर राख्ने निचोडमा पुगेको प्रधानमन्त्री निकट श्रोतले बतायो । सम्भवत भोलि प्रधानमन्त्रीले सरकारको पुनर्गठन गर्नेछन ।
आज महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने “संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्यो, सरकार गठनको दुई महिनामै तीतो अनुभव गरे”। ८ दलको सहमति भन्दा धेरै एमालेसँगको सहकार्यबाट पाएको भएपनि स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुनसक्छ भन्ने मुख्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आफूले पहल लिएको दावी गरे ।
शुक्रबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूले राष्ट्रिय सहमतिको सूत्रधार बन्ने प्रस्ताव राखेको सुनाउदै भने “नेपाली कांग्रेसलाई राष्ट्रपति सहमतिले दिउँ । सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छ, राष्ट्रियसभाको अध्यक्ष पनि छन्, हामी दुबै गएर कांग्रेसलाई राष्ट्रपति तपाईंहरु लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनको थिएँ । तर उहाँ मान्नुभएन” ।
यद्यपि ८ दलको बीचमा जे भयो, त्यो राष्ट्रिय सहमति भएको भन्दै उनले भने ‘हामी त मिल्न जरुरी थियो नै, सबैलाई यो राजनीतिक प्रक्रियामा इङ्गेज गर्न जरुरी छ’, ।
प्रचण्डले भने म प्रधानमन्त्री भएपछि केही शक्ति हौसिए, जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन । संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि पनि कांग्रेस नेतृत्वमा सहकार्य भएको थियो हिजो देखि फेरी नयाँ यात्रा सुरु भयो ।
प्रचण्डले स्पष्ट शव्दमा भने “एमाले अव प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । आज मात्रै राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो । अब कानुनी हिसाबले हामी प्रक्रियामा जानैपर्छ । सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि । तर एमालेको सभामुख त हुनुहुन्छ, उहाँहरु फुत्किएर जान सक्ने स्थिति त हुँदैन”।


प्रतिक्रिया दिनुहोस्