हात्तीपाइले प्रभावित १५ जिल्लामा आजदेखि औषधि खुवाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ ।

प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।

औषधि कसले खाने, कसले नखाने ? 
हात्तीपाइलेविरुद्धको औषधिले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । हात्तीपाइले हुनबाट पनि बचाउँछ । मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्दछ । दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खानु हुँदैन ।

औषधि नखाए के हुनसक्छ ? 

मन्त्रालयका अनुसार औषधि नखाएमा लामखुट्टेको टोकाइबाट हुने हात्तीपाइले रोग हुनसक्छ । यो रोग लागेमा खुट्टा, पुरुषमा अण्डकोष, महिलामा स्तन सुनिने लक्षण देखिन्छ । समयमै औषधि सेवन र उपचार नभएमा यसले शारीरिक अपांगता पनि निम्त्याउँन सक्छ । यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूको सुझाव छ ।

नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले यो दर चार प्रतिशतमा झरेको छ ।

यी हुन् आजदेखि औषधि खुवाइने जिल्लाहरू : 
झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली ।

प्रतिक्रिया दिनुहोस्

Array