काठमाडौं– प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् ।
‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’ उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने स्थिगतितिर जाँदैन ।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’
कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्