काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार आफैँसँग राखेका छन्।
सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए।
बैठकमा प्रचण्डले सहमतिका आधारमा उम्मेदवार तय नभए काँग्रेससँग सहकार्य हुन सक्नेतर्फ सङ्केत गरेका थिए।
स्रोतका अनुसार प्रचण्डले राष्ट्रपति निर्वाचनमा आफूहरू निर्णायक भएकाले शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा अडान लिनुपर्ने बताएका थिए।
‘हामीले शान्ति प्रक्रिया लगायतका विषयमा सहमति खोज्नुपर्छ। सहमति हुन नसके अधिकतम सहमति खोज्ने हो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सवालमा काँग्रेस र सेना जति जिम्मेवार छन्, त्यो जिम्मेवारीपन एमालेमा छैन। त्यसैले पनि हाम्रो सहकार्य काँग्रेससँग अलि सहज हुन्छ।’


प्रतिक्रिया दिनुहोस्