तत्कालीन पाँच दलीय गठबन्धनको प्रधानमन्त्रीसँग भेटघाँट तिब्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू सक्रिय भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले, माओवादी केन्द्रसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका छन् ।
आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुने भएपछि सत्ता गठबन्धन भत्काएर नेताहरू पुरानो गठबन्धन निर्माणमा सक्रिय भई लागेका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार बेलुका ४ बजे भेटेको नेपाल निकट एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने बारेमा छलफल गरेको ती नेताले बताए । अहिलेको सत्ता गठबन्धन भत्काउने उपयुक्त समय राष्ट्रपतिको चुनाव भएकाले पुराना सत्ता गठबन्धनका नेताहरू सक्रिय भई लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाल र यादवले भेटे लगत्तै आइतबार राती नेपाली कांग्रेसका नेताहरूले भेटेका थिए । प्रचण्डलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला लगायत नेताहरू बालुवाटार पुगेका थिए । कांग्रेस नेताहरूले प्रचण्डसँग करिब २ घण्टासम्म भेटेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array