एउटै लाइसेन्सबाट एक भन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउने नीति बन्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमडौं– क्यासिनो सञ्चालकलाई नियमन गर्न सरकारले कडा नीति अख्तियार गर्दै एउटै लाइसेन्सबाट एक भन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउने भएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधन अन्तर्गत यो विधेयक प्रतिनिधि सभामा दर्ता गराएको जानकारी दिएको छ । संसदबाट पारित भए लगत्तै नयाँ प्रावधान लागु हुने पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जानकारी दिएका छन् । संशोधनका लागि प्रस्तावित प्रावधानअनुसार एक वर्षभित्रै क्यासिनो संचालक कम्पनीले एउटाभन्दा बढी चलाउनु परेमा नयाँ कम्पनी दर्ता गर्नु पर्नेछ।
यी विषय नियमावलीमा थियो । मनी लाउण्ड्रिङ (सम्पत्ति शुद्धीकरण) का कारण यसलाई ऐनमा लगिएको हो । पुराना क्यासिनोको हकमा एकभन्दा बढी क्यासिनो संचालन गर्दै आएका कम्पनीले एक वर्ष भित्रै अलग कम्पनी स्थापना गरेर इजाजत लिनुपर्ने व्यवस्था लागू गर्न लागिएको महानिर्देशक बताए ।

उनका अनुसार यसअघि प्रशासनिक निर्णयअनुसार २०७० सालभन्दा अगाडि एउटै लाइसेन्सबाट चारवटा क्यासिनो संचालन गर्न पाउने व्यवस्था थियो। नियमावली र आर्थिक विधेयकले एउटै मात्र चलाउन अनिवार्य गरे पनि मुलुकमा चारवटा कम्पनीले अदालतको स्टे अर्डरबाट एकभन्दा बढी क्यासिनो संचालन गरेका थिए।

मुलुकमा रक इन्टरनेशनल, ह्‍याप्पी आवर र सेन्ट्रल मिडियाले एउटै लाइसेन्समार्फत चार(चारवटा क्यासिनो चलाएका छन्। संसदबाट पारित भएको एक वर्षमा यी क्यासिनो संचालकले छुट्टाछुट्टै कम्पनी दर्ता गरेर बाँकी तीन वटा संचालन गर्न पाउने व्यवस्था लागू हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array