बालाजु क्षेत्र तनावग्रस्त, आन्दोलित यातायात मजदुरले माछापोखरीको प्रहरी बिट जलाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

बालाजु क्षेत्र यातायात मजदूरको आन्दोलनका कारण तनावग्रस्त बनेको छ । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलित यातायात मजदुरले  प्रहरीको दुइटा भ्यान जलाएका छन्।

नयाँ बसपार्कको ठेकेदार कम्पनि लोत्सेले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका हुन् । बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने समेत घोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ‘हाम्रा १० बुँदे मागहरू थिए। त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम थियो। तर कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल,हिमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि हामीले आन्दोलन गर्‍यौं,’ ।

सोही कुराबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफल भएको थियो। त्यस छलफलपछि कसरी अगाडि बढ्ने भन्नेबारे घोषणा गर्ने कार्यक्रमको आयोजना भएको थियो।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो। ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका थिए।

यो आन्दोलनको आव्हान नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन् ।

आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ।

प्रतिक्रिया दिनुहोस्

Array