फागुन १० गतेभित्र सत्ता गठबन्धनमा फेरबदल ल्याउने गगन थापाको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धनमा फेरबदल ल्याउने दाबी गरेका छन् ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमवार कोटिहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन गरेरै छाड्ने बताएका हुन् । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहना अनुसार काँग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे ।

फागुन २५ गते नेपाली काँग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरवार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने बताए । उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनै पर्ने जिकिर गरे ।

महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि काँग्रेसको विकल्प नभएको दाबी गरे । पार्टीभित्र मतभेद रहे पनि सङ्घ र प्रदेशको चुनावमा काँग्रेस नेतृत्वको गठबन्धनले भोट माग्दा नागरिकसँग गरेका वाचा र प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबाट पछि नहट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array