नेपाली  राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक जान डी ब्रान्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं –  बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले पुष्टि गरे ।

‘बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘उनले नेपालको महिला र पुरुष दुवै टिम हुनेछन् ।’

६ महिनाका  लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् । जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् ।

तर एसियन गेम्सको बेला भने जान फर्कनेछन् र नयाँ प्रशिक्षक आउने छन् । ‘जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनेछन् । हानले यसअघि पनि नेपाल आएर दुवै पटक काम गरिसकेका छन् । हानले एसियन गेम्सका बेला ४५ दिन टिम हेर्नेछन्’, संघका महासिचव श्रेष्ठले भने ।

यसअघि पनि एआईभीबीको सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु म्याट भान विजल, लेस्ली जे जोङ र हान अविङले नेपालमा आएर प्रशिक्षक दिइसकेका छन् । नेपाली भलिबलको विकासका लागि एआईभीबीले विदेशी प्रशिक्षक पठाएर सहयोग गर्दै आइरहेको छ । जसले गर्दा नेपाली भलिबललाई सहयोग पुगेको श्रेष्ठले बताए ।

जान ब्रान्टले आफूले यसअघि नेपाल भ्रमण गरिसकेको भन्दै प्रशिक्षक बनेर नेपाल आउन उत्साहित रहेको बताए ।

जान ब्रान्ट बेल्जियमका पूर्व भलिबल खेलाडी समेत हुन् । उनले बेल्जियम र हंगेरीको महिला भलिबल टिममा समेत काम गरिसकेका छन् । यस्तै उनले बेल्जियम र टर्कीका विभिन्न टिमको समेत प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । ६४ वर्षीय जानसँग साढे दुई दशक भन्दा बढी प्रशिक्षण अनुभव छ ।

फागुन ४ गतेदेखि महिला टोलीको प्रशिक्षण

नेपाल भलिबल संघले फागुन ४ गतेदेखि महिला भलिबलको प्रशिक्षण सुरु गर्ने भएको छ । संघका महासचिव श्रेष्ठले ४ गतेदेखि महिला टिमको प्रशिक्षण सुरु गर्ने तयारी भएको बताए ।

आगामी मेमा नेपालमै आयोजना हुने काभा महिला सेन्ट्रल जोन भलिबलललाई मध्यनजर गर्दै प्रशिक्षण सुरु गर्न लागिएको हो ।

‘महिला टिमको प्रशिक्षण ४ गतेबाट सुरु गर्दैछौँ । जसमा १८ जना राख्ने छौं । सुरुमा नेपाली प्रशिक्षकले नै प्रशिक्षण गराउनेछन्’, महासचिव श्रेष्ठले भने ।

नेपाल भलिबल संघले पहिलो पटक महिला सेन्ट्रल जोन आयोजनाको अधिकार पाएको हो ।

नेपालको महिला टिमले यसअघि बंगलादेशमा भएको दुई संस्करणको सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array