काठमाण्डौ: काठमाण्डौ जिल्ला अदालतले करिब दुई वर्षअघि काठमाडौंको सीतापाइलामा युवतीमाथि भएको एसिड आक्रमणका योजनाकारलाई ७ वर्ष कैद, १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय गरेको छ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी पवित्रा कार्कीमाथि २०७७ साउन ११ गते साँझ एसिड प्रहार भएको थियो । उनी उपचारपछि सामान्य अवस्थामा फर्किएकी छन् । उनलाई सरकारले करारमा रोजगारी दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले आइतबार सजाय निर्धारण गर्दै फैसला सुनाएका हुन् ।
यसअघि गत साता नै ४८ वर्षीय नेपाली नागरिक मोहम्मद आलम र भारतीय नागरिक फैयाद अन्सारी दोषी ठहर भएका थिए । आलमको योजनामा अन्सारीले एसिड प्रहार गरेका थिए । अन्सारीविरुद्ध ७ वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।
आलमले ढल्कुस्थित आफ्नो ब्याग गार्मेन्टमा काम गर्ने मजदुरकी बहिनीलाई आफूले भनेअनुसार गर्न नमानेपछि एसिड आक्रमण गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
यही घटनापछि एसिड आक्रमणसम्बन्धी छुट्टै कानूनको व्यवस्था भएको थियो । अन्सारी र आलमविरुद्ध ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा मनासिव क्षतिपूर्तिको मागदाबी लिएर अभियोगपत्र दर्ता भएको थियो । मागदाबीअनुसारकै सजाय भएको छ ।


प्रतिक्रिया दिनुहोस्