टर्की केन्द्रबिन्दु भएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या २८,००० नाघ्यो,मृतकको सङ्ख्या अझै बढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
2 Min Read
Aa

टर्कीलाई केन्द्रबिन्दु बनाएर गत सोमवार बिहान आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या २८,००० नाघेको छ। यो संख्या अझै धेरै बढ्ने अनुमान गरिएको छ ।

७.८ म्याग्निच्युडको भूकम्प आएको केहि घण्टा पछि अपराह्न पुन ७.५ म्याग्निच्युडको पराकम्पले अधिक क्षति पुर्‍याएको थियो। पराकम्प अझै रोकिएको छैन ।

विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ।

भूकम्प आएको १२८ घण्टापछि दक्षिणी टर्कीको हटाई स्थित एउटा भत्किएको घरबाट एक जना १३ वर्षका बालक अर्दा क्यान ओभुलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। उनलाई भत्किएको घरबाट बाहिर निकालेर स्ट्रेचरमा राखिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको थियो ।

सिरियामा मात्र ५३ लाख मानिसहरू घरबारविहीन बनेको आशङ्का गरिएको छ। संयुक्त राष्ट्रसङ्घले ठन्डी मौसमकाबीच सीमाका दुवैतर्फ झन्डै नौ लाख मानिसहरूलाई तत्काल तातो खाना आवश्यक पर्ने जनाएको छ।

टर्की सँग सिमाना जोडिएको उत्तरी सिरियामा विद्रोहीको कब्जा रहेको छ । त्यहा सरकारको उपस्थिति न्यून रहेको छ । जसका कारण त्यहा उद्दारमा समेत समस्या भएको सञ्चार माध्यमले जनाएका छन् ।

आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ-आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।

एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गरे।

विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गरेका छन्।

(वीवीसी लगायतका सञ्चार माध्यमका रिपोर्टमा आधारित )

प्रतिक्रिया दिनुहोस्

Array