माओवादी केन्द्रमा पुरानै कार्यविभाजनलाई कायम, नाम, चुनाव चिह्न र संरचना परिवर्तन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो । माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।
माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको छ । माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ ।
१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । प्रचण्डले प्रस्तावमा भनेका थिए, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति केन्द्रदेखि वडातहसम्मै लागू गर्ने पार्टीको निर्णय गरेको पार्टी कार्यालय सचिव श्रीराम खनालले बताए ।
माओवादी केन्द्रले पार्टीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्ने गरी समयसमेत तोकेको छ । प्रदेश नं। १ र बागमती प्रदेश माघ २७ गते, मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ३ गते बैठक गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array