राजस्व चुहावट नियन्त्रण गर्नुस्: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभङ्ग गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन । राजस्व सङ्कलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरुरी छ ।’

नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिनेमा उनले जोड दिए । चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउँनु पर्ने र यसमा विशेष जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘चुहावट भन्सारमा मात्र छैन, राजस्व सङ्कलनका अन्य क्षेत्रमा पनि यो समस्या छ । यसको दायरा बढाउनुको अर्थ यसको प्रभावकारिता बढाउनु पनि हो । समन्वयात्मक ढङ्गले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ,’ उनले भने ।

उनले राजस्व चुहावट रोक्न आफूले भन्ने गरेजस्तै निरन्तरतामा क्रमभङ्ग गर्न आग्रह गरे । प्रधानमन्त्री भने, ‘राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array