कैलाली कारागारका ३० जना प्रहरीको जिम्मेवारी खोसियो, जेलरको पनि सरुवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–कैलाली कारागारमा लागुऔषधको कारोबार गरेको गुनासोपछि प्रमुखसहितका ३० जना प्रहरीको जिम्मेवारी खोसिएको छ भने जेलरको पनि सरुवा प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको जानकारी दिएको छ । उनीहरुको ठाउँमा बिहीबार नयाँ प्रहरी कर्मचारी पठाइएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको जानकारी दिएका छन् । उनका अनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया समेत प्रशासनले अघि बढाएको छ ।
‘ जेलरलाई पनि परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको छ । भोलिसम्म मन्त्रालयले अर्को व्यक्ति पठाउँछ होला ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने नियमित प्रक्रिया अन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए । प्रहरीतर्फका प्रमुख अवस्थीसहितका सुरक्षार्थ खटिएका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको उनको भनाइ छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक चरन बुढाथापालाई कारागारको सुरक्षा प्रमुखका रुपमा खटाइएको डीएसपी जोशीले जानकारी दिए । गत कात्तिकमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरेको थियो । भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array