नेपाल राष्ट्र बैंकले समस्याग्रस्त लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा भएको सुपर लघुवित्तको व्यवस्थापन आगामी आइतबारदेखि नियन्त्रणमा लिने भएको छ । केन्द्रीय बैंकले तीन सदस्यीय नेतृत्व टोली गठन गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने तयारी गरेको छ । नियन्त्रणपश्चात् संस्थाको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकका उप निर्देशक दिपक पोखरेलले गर्ने गोरक्षापोष्टलाई जानकारी दिए ।
सहायक निर्देशक रेवती पौडेल र निरज दाहाल व्यवस्थापन समितिमा रहेका छन् । राष्ट्र बैंकले बनाएको उक्त टिम आइतबार नै संस्थाको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा गएको जानकारी दिएको छ ।
राष्ट्र बैंकले २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा रहेका अध्यक्ष तथा सदस्यहरुले कानून विपरित काम गरेको प्रमाण फेला पारेको जनाएको थियो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष संलग्न भई संस्थाको हित विपरित व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटेको थियो र लुघुवित्तको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक थियो ।

उक्त लघुवित्तलाई राष्ट्र बैंकले २०७८ चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली अनुसार कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नुनपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न समेत निर्देशन दिएको थियो ।
संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि राष्ट्र बैंकले उक्त लघुवित्तलाई गत भदौ २२ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array