मोबाइल बैंकिङको कारोबार सीमा बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं–
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ जारी गर्दै अन्तर बैंक अटोमेटिक टेलर मेसिन (एटीएम) को १५ रुपैयाँ शुल्क घटाएको छ । यसअघि एक बैंकले जारी गरेको एटीएमबाट कुनै अर्को बैंकको एटीएम बुथबाट पैसा झिक्दा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । यद्यपि, कोभिड–१९ पछि यस्तो शुल्क महिनामा दुई पटक सम्मका लागि निःशुल्क हुने व्यवस्था गरिएको थियो । तर, एटीएम शुल्क घटेसँगै यसअघिको निःशुल्क व्यवस्था भने हटाएको छ ।
यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन भएको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था भएको छ ।
साथै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत राखिएको छ ।

यस्तै, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ ।
यसअघि ३ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा ५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रू ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ ।
यसअघि ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्ने गरेको थियो । १० हजार १ रुपैयाँभन्दा माथिको सबै कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर १० रुपैयाँ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array