अध्यक्षसहित कार्यसम्पादन समितिका पदाधिकारीले राजीनामा दिनुपर्छ: क्यानका केन्द्रीय सदस्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
3 Min Read
Aa

काठमाडाैँ- नेपाल क्रिकेट संघका ७ केन्द्रीय सदस्यहरूले क्यान अध्यक्षसहित कार्यसम्पादन समितिका सबै पदाधिकारीहरूले राजीनामा दिनु पर्ने माग गरेको छ।

लामो समयदेखि क्यानको नेतृत्वपङ्तिसँग असन्तुष्ट रहँदै आएको उक्त समूहले क्यानको नेतृत्वले जानाजान गल्ती गरेको भन्दै गल्ती क्षम्य नहुने बताएको हो।

क्यानका केन्द्रीय सदस्यहरूले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका प्रशान्तविक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन्।

उनीहरूले नेपाल टी-२० लिगमा पछिल्लो समय उत्पन्न विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै उनीहरुले राजीनामाको माग गरेका हुन्।

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले क्यान नेतृत्वको राजीनामा माग गरेका हुन्।

पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षले कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी-२० लिगका दौरान भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ। उनीहरूले भनेका छन्, ‘लिगका दौरान स्पट फिक्सिङ्ग भएको र गैरकानुनी काम भएको खबरले हामी दुःखित समेत भएका छौँ।’

उनीहरूले सेभन थ्री स्पोर्टससँगको सम्झौताको विषयमा सुरुवातदेखि नै प्रश्न उठाएको बताएका छन्।

‘भारतीय कम्पनीको पृष्ठभूमि शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत् गर्नुपर्नेमा हामी स्पष्ट थियौँ। जसका कारण हामीले लिगको विषयमा पटक-पटक नोट अफ डिसेन्ट समेत लेखेका थियौँ’, अगाडि भनिएको छ, ‘उक्त सम्झौता खेलकुद विकास ऐन २०७७ विपरित भएको हामीले क्यान नेतृत्वलाई बारम्बार सचेत गराएका थियौँ। आज आएर राष्ट्रिय खेलकुद परिषदको कार्यदलले सम्झौता ऐन विपरीत भएको ठहर गरिसकेको छ।’

उनीहरूले नेतृत्वले जर्बरजस्ती भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारणसभाबाट अनुमोदन गरेको आरोप लगाएका छन्।

असन्तुष्ट पक्षले भनेको छ, ‘बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी-२० लिग सञ्चालन गल्ती भएको स्वीकार गर्नु भएको छ। हामीले हिजो गल्ती हुनसक्छ भन्दै सचेत गराएका थियौँ। आज आएर उहाँले त्यो गल्ती स्वीकार गर्नु भएको छ। त्यसैले उहाँहरूले जानाजान गल्ती गर्नु भएको हो। हामीले पटकपटक सचेत गराएका थियौँ। तर उहाँहरूले जर्बरजस्ती निर्णय गर्नुभयो। यसले नेप‍ क्रिकेट मानमर्दन भएको छ।’

उनीहरूले नेतृत्व तहबाटै क्रिकेटलाई बेटिङ र फिक्सिङकाे उर्भर भूमिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा बदनाम गराएको भन्दै उन्मुक्ति दिन नहुने बताएका थिए।

‘एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीहरूले गल्ती स्वीकार गरेर मात्र पुग्दैन, उहाँहरूले त्यसको सम्पूर्ण जिम्मेवारी लिनु पर्छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समिति यसको भागिदार हुनुपर्छ। कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ। हामी केन्द्रीय सदस्यहरू उहाँहरूको राजीनामा जोडदाररूपमा माग गर्छौँ’, उनीहरूले भनेका छन्।

साथै उनीहरूले राजीनामा गरेर उहाँहरूले नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानविन गर्न सम्वन्धित निकायहरूलाई सघाउनु पर्ने धारणा पनि राखेका छन्।

यस्तै, उनीहरूले नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त बिक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया पनि दोषी भएको आरोप लगाएका छन्। उनीहरूले गभर्निङ काउन्सिललाई पनि कारवाहीको दायारामा ल्याउनु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

Array