माधव नेपालसँग वामदेव गौतमको पार्टी प्रवेश गर्न चार सर्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राख्ने भएका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग कुरा अघि बढाएका छन् । तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने बताएका छन् । गौतमको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन् ।
पहिलो, जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको सर्त छ । एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद–लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।
गौतमको दोस्रो सर्तमा रहेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा पनि छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । तेस्रो सर्तका रुपमा गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन् ।
गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।
वामदेव गौतमको धेरैजसो सर्तमा प्रतिबद्धता जनाउन कुनै अप्ठ्यारो नभएको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।
गत ४ मंसिरको चुनाव अगाडि भने गौतमले नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरे पनि गौतमले टिकट पाएनन् ।
गौतमले चुनाव लड्न चाहना प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि गौतम अहिले फेरि एकीकृत समाजवादीसँग सर्त राखेर पार्टी प्रवेशको छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array