प्रेम आचार्यले नाम लिएका व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – अधिवक्ता स्वागत नेपालको टोलीले प्रेमप्रसाद आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको छ ।

अधिवक्ता नेपालसहितको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सुरुमा तीनकुने प्रहरी कार्यालय पुगेका उनीहरूको जाहेरीमा सरकारको विरुद्ध भएको भन्दै तीनकुने प्रहरीले संशोधन गर्न लगाउँदै दर्ता गर्न नमानेपछि आफूहरू जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर पुगेको अधिवक्ता नेपालले बताए ।

आचार्यले सामाजिक सञ्जालमा गरेको पोस्टमा नाम चलेका डिपार्टमेण्टल स्टोर, मार्ट, कलेजलगायत धेरै व्यक्ति तथा संस्थाहरूले उधारो नतिरेको र आफू ऋणमा डुबेको बताएका छन् । त्यस्तै, परिवारले पनि पैतृक सम्पत्ति अंश दिन विभेद गरेको बताएका छन् । त्यस्तै, आफूलाई यो अवस्थामा पुर्‍याउनमा सरकार र कानुन पनि जिम्मेवार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्