घनश्याम भुसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउन लागिएको हो ।

यसको औपचारिक निर्णय भने २१-२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ । चुनावअघि एमाले त्यागेका भुसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ । गौतमले यसबारे एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् ।

गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्ताबेज एकीकृत समाजवादीलाई बुझाएका छन् ।

आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए ।

गौतम पार्टीमा आए उनलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । गौतम तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्