नेपाल टी २० लिग स्पट फिक्सिङ आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ गरेको छ । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाकारी दिएको छ ।
सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेको प्रहरीले जानकारी दिएको छ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताएका छन् । उनले भने, ‘सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भयो ।’

पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए ।

पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array