नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बनाउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी मोन्टी देसाईले सम्हाल्ने भएका छन् ।

देसाईलाई नै मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले सम्बन्धित निकायलाई जानकारी गराइसकेको क्यान उच्च स्रोतले बताएको छ ।

क्यानले यसअघि नेपाली टिमको प्रशिक्षकका आवेदन आह्वान गरेको थियो । त्यसमा २४ जनाले आवेदन दिएका थिए । जसमध्ये क्यानले पहिलो चरणमा पाँचजनासित अन्तर्वार्ता लिएको थियो ।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि देसाईसँगै, अस्ट्रेलियाका डेभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलङ्काका धम्मिका प्रसादसँग अन्तर्वार्ता लिएको थियो । त्यसमध्येबाट देसाईलाई अघि सारिएको क्यान स्रोतको भनाई छ ।

मनोज प्रभाकरले गएको मंसिरमा राजीनामा दिएपछि नेपाली क्रिकेट टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो । प्रभाकरले नेपाली टिमको प्रशिक्षण सम्हालेको चार महिनामै जिम्मेवारी छोडेका थिए ।

देसाईले पछिल्लो एक दशकयता विभिन्न भूमिकामा रहेर नेपाली क्रिकेट टिमलाई सहयोग गरिरहेका छन् । उनले यसअघि आन्द्र क्रिकेट एसोसिएसन (एसीए्)को प्रशिक्षण सम्हालेका थिए । उनीसँग नौ वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)मा फरक-फरक क्लबहरूसँग काम गरेको अनुभव पनि छ । जसमध्ये सात वर्ष उनी राजस्थान रोयल्सको प्रदर्शन प्रशिक्षक र सहजकर्ताको भूमिकामा थिए ।

देसाईले सन् २०१८ मा अफगानिस्तान र सन् २०१९ को अक्टोबरमा युनाइटेड अरब इमिरेट्स (युएई)को ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । २०१९ मै उनले विश्वकप क्रिकेट लिग-२ का लागि क्यानडाको मुख्य प्रशिक्षण सम्हालेका थिए । सोही वर्ष उनी दुई वर्षको सम्झौतासहित वेस्ट इन्जिड क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए ।

सन् २०१७ मा नेपाली यू-१९ टोलीले यू-१९ एसिया कपमा भारतलाई हराउँदा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको ट्वान्टी-२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्

Array