काठमाडौँ – नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप अरू दश लाख दिने घोषणा गरेको छ ।
नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ मार्फत तोकिएको मापदण्डका आधारमा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगबहादुर गुरुङले जानकारी दिए ।
शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ ।
विद्यालयलाई शैक्षिक क्यालेन्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ ।
उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ई–पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ ।
हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्