काठमाडौँ – सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकालाई हटाउने क्रममा धरान उपमहानगरपालिका–५ मा झडप भएको छ। वडा नम्बर ५ देउरालीमा आइतबार बिहान सुरक्षाकर्मीसहित धरान उपमहानगरको टोली अतिक्रमित घरटहरा भत्काउन पुग्दा झडप भएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले सार्वजनिक क्षेत्रमा घर निर्माण भएपछि हटाउने क्रममा सामान्य झडप भएको जानकारी दिए। धरान–५ को खार खोला र अँधेरी खोलाको सङ्गमस्थलमा रहेको क्षेत्रमा घर निर्माण कार्य हुँदै आएको उनले बताए।
घर भत्काउनका लागि डोजर लैजाँदै गर्दा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको श्रेष्ठले बताए। यसक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो।
स्थानीयले ढुंगामुढा गर्दा डोजरको सिसा फुटेको छ। यसअघि, सो क्षेत्रमा घर निर्माण नगर्न उपमहानगरपालिकाले दुई पटक पत्र काटे पनि स्थानीयले अवज्ञा गर्दै आएको धरान उपमहानगरले जनाएको छ।
सो क्षेत्रमा उपमहानगरले रंगशाला निर्माण गर्ने जनाउँदै आएको छ। स्थानीय मुना चौधरी लिम्बुले सो जग्गामा एक तले पक्की घर निर्माण गर्दै आएको धरान उपमहानगरपालिकाका नगर प्रहरी विष्णु कोइरालाले जानकारी दिए। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्