काठमाडौं–
हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको भन्दै कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, “हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।” सभामुख मतदानमा सहभागि हुन कोइरी आएको भन्दै कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
खतिवडाको ध्यानाकर्षणपछि एमालेका सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्ने प्रस्तावको समर्थन गर्न गएका गृहमन्त्री रवि लामिछानेले जवाफका क्रममा यस्तो बताएका हुन् । “एकजना माननीयज्यूले हत्या अभियुक्तलाई पक्राउ गर्न मेरो ध्यानाकर्षण गराउनुभयो । गृह मन्त्रालय विधि र प्रक्रियाभन्दा बाहिर केही पनि गर्दैन । मैले यसअघि पनि भनेको थिएँ, कतैबाट पनि प्रभावित पार्ने र दबाब सिर्जना गर्ने काम नगर्नु होला,” गृहमन्त्री लामिछानेले भने, “निष्पक्ष रूपमा काम गर्ने वातावरण बनाइदिनुहुन आग्रह गर्दछु ।”


प्रतिक्रिया दिनुहोस्