एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट को को  बन्ने भए मन्त्री ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं– नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे हुने तय गरिएको छ। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।

एमालेबाट को को  मन्त्री ?
सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो । एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै जना यसअघि मन्त्री बनेका थिएनन् । त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ ।
यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ ।
स्रोतका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।

माओवादी केन्द्रबाट को को  मन्त्री ?

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।
थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।

रास्वपाबाट को को  मन्त्री ?

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।

राप्रपाबाट को को  मन्त्री ?

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जान लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँच मन्त्रालय पाएको छ ।
उपप्रधान तथा उर्जामन्त्रीमा अध्यक्ष लिङ्देनको टुङ्गो लागेको छ भने अन्य तीन मन्त्रीहरूमा धवल शमशेर, धुर्वबहादुर प्रधान र विक्रम पाण्डे रहेका छन्। एक जना राज्यमन्त्री को बन्ने भन्ने टुङ्गो लगाउन बाँकी रहेको राप्रपाले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुङ्ग्याएको छ हो। जसअनुसार राप्रपाले चार मन्त्रालय पाएको छ भने एक राज्यमन्त्रालय पाएको छ।

नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

Array