विमान दुर्घटनाको विषयमा अनावश्यक अड्कल र अनुमान नगर्न प्राधिकरणको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं–
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन प्रेस विज्ञप्ति मार्फत दिएको छ ।
प्राधिकरणले विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्वकर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान नगर्न भनेको छ ।

जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउने भन्दै प्रवक्ता निरौलाले प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारहरुबाहेक अरुलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न आग्रह गरे ।

सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको उनले स्पष्ट पारे । उनले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको बताए ।
“जुन एउटा फेसबुकमा लाइभ भएको भिडियो देखिन्छ, त्यो हिजो दुर्घटना भएको जहाजको नभइ अन्य कुनै जहाजको भएको बुझिन्छ । यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना संप्रेषण गरेको देखिन्छ,” उनले भने, “यसमा सत्यता छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले घटना भइसकेपछि छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउँछ । यसमा अरु कसैले पनि घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय हुँदैन ।”

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट दुई किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने तीनजनाको खोजी कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ ।

जहाजको ‘ब्ल्याक बक्स’ फेला परिसकेको र काठमाडौं ल्याएर जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ । सरकारले आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो ।

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाईविज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array