काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं–
अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार भित्र पर्ने ३२ वटा वडाका सहकारीको नियमितरुपमा अनुगमन गर्ने तयारी गरेको छ ।
नागरिकलाई ठगी गर्ने सहकारीको सङ्ख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको कामपाका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

“पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ”, उनले भने । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताए ।

पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको सङ्ख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकमात्रामा ठगीका उजुरी परेकाले कामपाले अनुगमन गर्ने तयारी गरेको हो । कामपामा एक महिनाअघि दैनिक १५ वटासम्म उजुरी आउने गरेको थियो । अहिले दैनिक तीन÷चार वटा उजुरी आउने गरेको बताइएको छ । अनुगमनको काम तत्काल सुरु गर्न टोली गठनको तयारी भइरहेको छ ।

एक सय १८ सहकारीबारे उजुरी
कामपा क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय १८ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । उक्त उजुरी सङ्ख्या चालु आर्थिक वर्षको हालसम्मको हो ।

गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा अघिल्लो वर्षभन्दा दोब्बर उजुरी परेको विभागका प्रमुख पोखरेलले जानकारी दिनुभयो । परेका उजुरीमध्ये सबैभन्दा बढी कामपा भित्री वडाबाट आएका छन् । जहाँ सहकारीको सङ्ख्या धेरै छ । सबैभन्दा धेरै बचतकर्ताको रकम फिर्ता नगरेको ठगीका उजुरी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array