युक्रेनी नुनखानीको सहर कब्जा गरेको रूसको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
1 Min Read
Aa

युक्रेन – रूसले युक्रेनी नुनखानीहरूको नगर सोलेदार आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। जसलाई रूसले हालसम्मको आक्रमणमा भएको ‘महत्त्वपूर्ण कदम’ बताएको छ। उक्त जितले रूसी फौजलाई नजिकैको ठूलो युक्रेनी सहर बख्मुतका लागि आपूर्ति मार्ग अवरुद्ध पार्न सघाउने रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ।

‘अब रूसी फौजले महिनौंदेखि आक्रमण गरिरहेको बख्मुत सहरमा युक्रेनी फौजलाई सम्पर्क विच्छेद गर्दै एक्ल्याउन सक्ने अवस्था बनेको छ,’ मस्कोस्थित रक्षा मन्त्रालयले भनेको छ। युक्रेनी अधिकारीहरूले भने सोलेदारमा लडाइँ जारी रहेको भन्दै रूसले ‘सूचनाको हल्ला’ मच्चाएको आरोप लगाएका छन्। बीबीसीका अनुसार सोलेदार र आसपास भएका लडाइँ यस युद्धकै सबैभन्दा रक्तपातपूर्णमध्येका छन्।

- Advertisement -
Ad image

यस साताको सुरुमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले आफ्ना फौजले सोलेदार कब्जा गरेको दाबी गरेको थियो। जुन विषय रूसी रक्षा मन्त्रालयको भनाइसँग बाझिएको छ। बिहीबार सोलेदारका क्षेत्रीय गभर्नरले १५ जना बालबालिकासहित ५ सय ५९ सर्वसाधारण सहरमा बाँकी रहेको र उनीहरू निस्कन नसकेको बताएका थिए।

रूसी सेनाका लागि सोलेदारको महत्त्वबारे सैन्य विश्लेषकहरूले फरक–फरक धारणा राखेको पाइन्छ। तर, १० महिना लामो युद्धमा महिनौं हार र क्षति बेहोरिरहेको मस्कोका लागि यो एउटा जितको रूपमा हेर्न सकिनेछ। अमेरिकामा रहेको इन्स्टिच्युट फर द स्टडी अफ वारले पनि शुक्रबार रूसी फौजले सोलेदार कब्जा गरेजस्तो देखिएको बताएको छ।

एएफपी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्