चुलिँदै पोल भाडा विवाद, इन्टरनेट तार काट्ने अन्तिम तयारीमा विद्युत् प्राधिकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – पोल भाडाको  विवादमा नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच सहमति हुन नसक्दा इन्टरनेट सेवा नै अवरुद्ध हुने खतरा देखिएको छ ।

प्राधिकरणले बारम्बार ताकेता गर्दा पनि इन्टरनेट सेवा प्रदायकले पोल भाडा नतिरेको भन्दै प्राधिकरणले त्रिपुरेश्वर चोकदेखि बुढानिलकण्ठसम्मको भाडा नतिरेका र प्रयोगविहीन रहेका सेवा प्रदायकका तार काटने तयारी गरेको छ । तार हटाउने अभियानलाई देशव्यापी बनाउने तयारी रहेको प्राधिकरण प्रादेशिक कार्यालय काठमाडौँले जनाएको छ ।

- Advertisement -
Ad image

प्राधिकरण तार हटाउने योजनामा लागिरहँदा इन्टरनेट सेवा प्रदायकले बढेको अस्वाभाविक भाडामा सहमत हुन नसकिने भन्दै प्राधिकरणको चेतावनीलाई अस्वीकार गर्दै आएका छन् । १० दिन पहिले इन्टरनेट सेवा प्रदायक संघले प्राधिकरणले एकलौटी निर्णय गरी सेवा अवरुद्ध हुने गरी चेतावनी दिइरहेको भन्दै आवश्यक सहजीकरण गरिदिन सरकारसमक्ष आग्रह गरेको थियो । तर सरकारले पनि यो बीचमा समस्या समाधानका लागि खास पहल गरेन ।

अहिले प्राधिकरण तार काट्ने तयारीमा जुटेको छ । गत वर्ष चितवन, काकडभिट्टा मा इन्टरनेटका तार काटिदिएपछि सो क्षेत्रमा इन्टरनेट अवरुद्ध भएको थियो । तर यसपटक समस्या भयावह हुने खतरा संघले औंल्याएको छ । प्राधिकरणले एकतर्फी रुपमा तार काटेमा देशैभर इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी संघले दिएको छ ।

प्राधिकरणले सरकारले निर्धारण गरेको विनियमावलीकै आधारमा पोल भाडा निर्धारण गरेको दाबी गर्दै आएको छ । तर सेवा प्रदायकले भने सातसय प्रतिशत महँगो भाडा तोकेर अन्याय गरेको र महँगो भाडा नतिर्ने बताउँदै आएका छन् । प्राधिकरणले तोकेको भाडा दर प्रतिवर्ष प्रतिकिलोमिटर १५ हजार रुपैयाँ सम्म पुराएको जनाइएको छ जुन यस अघि दुई हजार रुपैयाँमात्र थियो । ६६ केभि भन्दा माथिका प्रसारणलाइनमा रहेका ओपीजी अप्टिकल फाइबरको यस्तो भाडा ३४ हजार रुपैयाँ सम्म पुर्‍याइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्