काठमाडौँ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
यस अवस्थामा मुख्यमन्त्री जम्कट्टेलले सहजै विश्वासको मत पाउने देखिन्छ । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा उनको नेतृत्वको सरकार कायम रहन्छ । मुख्यमन्त्री जम्कट्टेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । सरकारलाई छिट्टै पूर्णता दिन पनि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेको प्रवक्ता थपलियाले बताए ।
उनले विश्वासको मत लिएपछि पार्टी केन्द्रसँगको परामर्श अनुसार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको बताए । मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा रहेको १४ वटा मन्त्रालयलाई कटौती गरी ११ वटा कायम गर्ने र ती मन्त्रालयहरूलाई दलीय हैसियतका आधारमा गठबन्धनका दलहरूबिच भागबन्डा गर्ने तयारी गरेका छन् ।
सोही अनुसार सत्ता गठबन्धन दलका नेताहरू भागबन्डाको दाबी पेस गरी रहेका छन् । प्रदेशको मन्त्रिपरिषद्का लागि एमाले ५ वटा मन्त्रालयमा दाबी गरेको छ भने माओवादीले मुख्यमन्त्रीसहित ४ वटा, राप्रपाले २, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालयको दाबी गरेको छ । मन्त्रालयको सङ्ख्या र दलहरूको दाबी अनुसार मुख्यमन्त्री जम्मकट्टेललाई भागबन्डा सहज भने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्