काठमाडौँ – लुम्बिनी प्रदेशसभा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदै छ ।
मंगलबार (हिजो) नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गनए सकेन । एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार (आज) मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए ।
सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्