काठमाडौं–
लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गरी सरकार बनाउने सहमति गरेका छन् । लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक समझदारी भएको नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । ‘दुबै दलका केन्द्रका शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको उनले बताए । सुरुको साढे २ वर्ष एमालेले र त्यसपछिको साढे २ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको बताइएको छ । लुम्बिनी प्रदेश सभामा एमालेका २९ जना र माओवादी केन्द्रका १० सांसद छन् । माओवादी केन्द्रले लुम्बिनीलाई ‘जनयुद्ध’को उद्गमस्थल र पार्टीको संगठन अन्य प्रदेशको तुलनामा राम्रो भएको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको थियो । समझदारी अनुसार माओवादी संसदीय दलका नेता जोखबहादुर महरा साढे २ वर्षपछि मुख्यमन्त्री हुनेछन् ।
यसअघि लुम्बिनी, गण्डकी र प्रदेश १ को नेतृत्व ५ वर्ष पुरै कार्यकाल एमालेले, कर्णालीमा माओवादी केन्द्रले ५ वर्ष तथा मधेश प्रदेश जसपा र जनमत पार्टी, बाग्मतीमा माओबादी र एमाले र सुदूर पश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको थियो ।
तर प्रदेश १ मा पनि एमालेलाई पुरै कार्यकाल नेतृत्व दिएको भन्दै माओवादी केन्द्र असन्तुष्ट भई सरकारमा सहभागी भएको छैन । लुम्बिनीमा मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाएर दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते दिउँसो ४ बजेसम्मको समय सीमा दिएका छन् ।
आज मंगलबार नै बहुमत जुटाएर प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भए पनि दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लगाएर भोलि मात्रै दावी पेश गर्ने नेकपा एमालेका एक नेताले बताए ।
लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा सरकारमा जान चाहेका छन् ।


प्रतिक्रिया दिनुहोस्