मलेसियामा बन्धक १३ नेपालीको उद्धार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मलेसियामा बन्धक बनाइएका १३ नेपाली नागरिकको उद्दार गरिएको छ । उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने भएका छन् ।

नेपालबाट रोजगारीका लागि मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्धक बनाइएका र समस्यामा परेका अरु नेपालीको अवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ नेपाली नागरिक स्वदेश फर्किने भएका हुन् ।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार उक्त कम्पनीमा काम गर्न गएका सबै १३ श्रमिकलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार र १३ जनवरीमा ७ जना नेपाल फर्किने भएका छन् । यस्तै मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्