समझदारी ख्याल नगर्दा समानुपातिकमा प्रदेशतर्फ नेपाल समाजवादी पार्टीले एक सिट पनि पाएन: डा. भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सूची अन्तिम पटक सच्याउँदा समझदारीलाई ख्याल नगरेको आरोप लगाएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले समझदारी पालना नहुँदा प्रदेशतर्फ १ जना पनि नेसपाको तर्फबाट निर्वाचित नभएको बताएका हुन् ।

डा. भट्टराईले भनेका छन्, ‘ एकल चुनाव चिन्हमा चुनाव लडेको हुनाले हाम्रो समानुपातिकको अलग्गै सूची हुँदैनथ्यो । त्यसैले माओवादी केन्द्रकै सूचीमा हाम्रा उम्मेदवारहरु पनि सङ्घ र प्रदेश दुबैतिर पर्ने गरी समझदारीसहित सूची बनाइएको थियो । अन्तिम पटक सूची सच्याउँदा समझदारीको ख्याल नगरेकाले प्रदेशतर्फ १ जना पनि नेसपाको तर्फबाट निर्वाचित भएनन् ।’
समानुपातिकतर्फ प्रदेशमा शून्य हुन गएकोमा असावधानी निम्ति नेतृत्वले आत्मालोचनासमेत गरेको उनले उल्लेख गरेका छन् । कमीकमजोरीका बाबजुद एकल चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा लिएर निर्वाचनमा जानु सही भएको उनको ठहर छ । ‘वृहत् ध्रुवीकरण मार्फत समाजवादी केन्द्र निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो । त्यो आवश्यकता एक्लै हिँडेर पूरा गर्न सम्भव छैन,’ भट्टराईले भनेका छन् । यसका लागि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जानुको विकल्प नरहेको रणनीतिक उद्देश्य प्राप्तिका लागि कार्यनीतिक स्टेपहरु मिलाउन सिपालु हुनुपर्ने उनको भनाई छ ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको नेसपाले प्रत्यक्षतर्फ सङ्घमा १ र प्रदेशमा २ सिट विजय गरेको छ । सङ्घतर्फ २ र प्रदेशतर्फ ४ सिटमा प्रतिस्पर्धा गरेको हाम्रो पार्टीले आधा अर्थात् ५० प्रतिशत सिटमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array