इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ।

नेपाल आयल निगमका अध्यक्ष समेत रहेका आपूर्ति तथा वाणिज्य सचिव तोयम रायलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले मूल्य घटाउन निर्देशन दिएका थिए।
तर रायले आज बिहीबारका लागि डाकेको निगमको बोर्ड बैठक नै रद्द गरेर प्रधानमन्त्रीको निर्देशन टारिदिएका हुन्।

रायलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको थियो। जाँदाजाँदै निगममा प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्दा विवादमा पर्ने भएपछि उनले गत मंगलबार नै बोर्डसदस्यलाई जानकारी गराइएको बिहीबारको बैठक रद्द गरेका हुन्।

- Advertisement -
Ad imageAd image

योसँगै मूल्य समायोजन गर्न प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको हो।

नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्थाअनुसार हालसम्म अध्यक्षमा सचिव राय नै छन्।  उनले आफू जाँदाजाँदै विवादमा पर्न सक्ने निर्णय नगर्ने बताउँदै बोर्ड बैठक नै रोकेका हुन्।

आज ४ बजेर १५ मिनेटमा मन्त्रालयमा बोर्ड बैठक बस्ने भनिएको थियो। तर तोयम रायले आजको बैठक स्थगित गरिएको भनेर ३ बजेर ४५ मिनेटमा जानकारी गराएका थिए।

त्यसपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा सदस्यसचिव उमेश प्रसाद थानीले बैठक स्थगित भएको बोर्ड सदस्यहरुलाई जानकारी गराएका थिए।

मन्त्रालयमा बोर्ड सदस्यहरु आउन थालिसकेका थिए। तर एकाएक बैठक स्थगित भएको जानकारी आएपछि उनीहरु मन्त्रालयबाट बाहिरिएका थिए।

बैठक स्थागित हुनुमा मूल्य घटाउनुपर्ने बाध्यता नै प्रमुख रहेको वाणिज्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्