तेस्रो दिन पनि १७.५६ अंकले उकालो लाग्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १७.५६ अंक बढेर २०६३.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५३ स्टकको ४८ हजार ५०३ पटकको कारोबारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत बढेको छ। यस दिन ५५ स्टकको मूल्य घटेको छ। यद्यपि, यी स्टकहरुको गिरावटदर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको करिब ३ प्रतिशत बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्