काठमाडौँ – बागमती प्रदेश सरकारले रामेछाप र दोलखामा अलैंची खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । अलैंची प्रवर्द्धन कार्यक्रमका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयले यी दुई जिल्लालाई कार्यक्षेत्र तोकेको हो ।
कृषि ज्ञान केन्द्र, रामेछापको आ।व ०७९–०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसारको अलैची प्रवर्द्धन कार्यक्रममा रामेछाप र दोलखा जिल्लाका ईच्छुक कृषक समूह तथा कृषि सहकारीलाई कार्यक्रममा प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।
अलैँची प्रवर्द्धन कार्यक्रमका लागि ६० रोपनी जग्गालाई न्यूनतम् मापदण्ड तय गरिएको कृषि ज्ञानकेन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिएकी छिन् । उनका अनुसार कार्यक्रमका लागि १ हजार रोपनी जग्गामा क्लस्टरसमेत विस्तार गर्न सकिने योजना छ । रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखाको शैलुङ, मेलुङ, तामाकोशी, विगु, गौरीशंकर र बैतेश्वर गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिने गुरुङले जनाइन् ।
नेपाल अलैँची महासंघका अनुसार नेपालमा बर्सेनि ६० लाख केजी अलैंची उत्पादन हुन्छ । हाल नेपालमा ४५ भन्दा बढी पहाडी तथा हिमाली जिल्लामा अलैंचीको खेती भइरहेको छ । इलाम, पाँचथर, भोजपुर, सोलुखुम्बु,खोटाङ, धनकुटा, तेह्रथुम, संखुवासभा, लमजुङ, कास्की, गोर्खा, दोलखा, रामेछाप र काभ्रेलगायतका जिल्लामा अलैंचीको खेती छ ।


प्रतिक्रिया दिनुहोस्