मुस्ताङमा स्याउ सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्न साढे १२ करोडको अनुदान कार्यक्रम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ – कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले मुस्ताङमा स्याउ संकलन तथा प्रशोधन केन्द्र स्थापना कार्यक्रमका लागि १२ करोड ५० लाखको अनुदान कार्यक्रम ल्याएको छ ।

प्रदेशअन्तर्गतका जिल्लामा रहेका कृषि फार्म, कृषक समूह, कृषि सहकारी तथा कृषि कम्पनीबाट प्रस्ताव माग गर्दै मन्त्रालयले सूचना जारी गरेको हो ।

- Advertisement -
Ad image

मुस्ताङमा स्याउ संकलन, ग्रेडिङ, प्रशोधन, प्याकेजिङ तथा १ सय मेट्रिक टन क्षमताको कोल्डस्टोरेजका लागि अनुदानग्राहीले न्यूनतम् १५ प्रतिशत बेहोर्नुपर्ने छ । प्रति आयोजनाका लागि अधिकतम् १ सय २५ लाख रकम अनुदानमा छुट्याइएको छ । त्यहाँ समुदायमा आधारित स्याउ संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिने जनाइएको छ ।

यसैगरी मुस्ताङ, मनाङ, गोरखा, बाग्लुङ, म्याग्दी र लमजुङमा न्यूनतम् १० मेट्रिक टन क्षमताको वातानुकूलित कृषि उपज भण्डारण कक्ष निर्माण तथा व्यवस्थापनका लागि मन्त्रालयले सहयोग गर्नेछ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि आवेदन पेश गर्न सूचना जारी गरेको छ ।

आर्थिक वर्ष २०७९–०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेशअन्तर्गतका जिल्लामा रहेका कृषि फर्म, कृषक समूह, कृषि सहकारी तथा कृषि कम्पनीबाट मन्त्रालयले आवेदन माग गरेको हो ।

गण्डकी प्रदेशलाई स्याउ उत्पादनको पकेट बनाउन सकिने विज्ञहरूले सम्भावना देखाएका छन् । मनाङ, मुस्ताङ, गोरखा, बागलुङ, म्याग्दी र लमजुङका माथिल्ला क्षेत्रमा स्याउ उत्पादनको सम्भावना अधिक छ ।

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङमा यस वर्ष रु ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । ६ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ ।

गण्डकी प्रदेशको कृषि निर्देशनालयले इटालीबाट आयात गरिएका ९८ हजार ५०० गोटा उन्नत स्याउका बिरुवा ७५ मुस्ताङमा वितरण पनि गरेको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा कूल १ हजार ५ सय ७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी मुस्ताङमा ५ जातका स्याउका बिरुवा रोपिएको छ ।

साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई किसानले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने उद्योग पनि यहाँ सञ्चालनमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्