कम्बोडियाको होटलमा आगलागी हुँदा झापाका निराकार पाण्डेको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं – कम्बोडियाको पोइपेट शहरको क्यासिनो होटलमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोडाका ४० वर्षीय निराकर पाण्डे रहेका छन् ।

ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा कार्यरत रहेका पाण्डेको आगोबाट बच्न क्यासिनको १२ तलाबाट हाम फाल्दा मृत्यु भएको हो । भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ ।

- Advertisement -
Ad image

क्यासिनोबाट हाम फाल्नुअघि पाण्डेले डेढ घण्टा परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । भिडियोमा पाण्डेले कुरा गर्दागर्दै कोठामा धुँवा भरिएको देख्न सकिन्छ । होटल परिसरमा दमकलको साइरन पनि सुनिन्छ । पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको जनाइएको छ । उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।

उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरू समेत देखिएको छ ।

उक्त क्यासिनोमा ४०० जना कार्यरत रहेको र त्यहाँ कार्यरतमध्ये अधिकांश कामदार थाइल्यान्डका भएको बीबीसीले उल्लेख गरेको छ । कतैबाट निस्कने बाटो नपाएपछि अन्तिम अवस्थामा पाण्डेले परिवारसँग कुराकानी गरेर हाम फालेका हुन् । उनले अन्तिममा छोरालाई आफूले धेरै मायाँ गर्ने भन्दै राम्रो मान्छे बन्न आशिर्वाद थिएका थिए ।

‘मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नु हुन्न । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू । माइजुहरूलाई चित्त नदुखाउनू । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौं । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नू है बाबु,’ उनले भिडियोकलमा छोरालाई भनेका छन् ।

उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्