नेपाल टी-२०: लुम्बिनीको लगातार पाँचौं जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – हर्मितसिंहको उतकृष्ट बलिङमा काठमाडौँ नाइट्सलाई ३५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले जारी नेपाल टी-२० लिगमा लगातार पाँचौं जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रनमा सीमित भयो ।

काठमाडौँका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २९ बल खेल्दै ३ छक्का प्रहार गरे । शीर्ष क्रमका तीन ब्याटर शून्यमा आउट हुँदा एलेक्स ब्लेकले ११ रन जोडे । सुमन गौतमले ३२ बलमा १८ रन बनाए । वसिर अहमद १० रनमा पभेलियन फर्कँदा कमल ऐरी १९ रनमा अविजित रहे ।

लुम्बिनीको जितमा हर्मितसिंहले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे । ओपनर लाहिरु मिलन्था १८ बलमा २ छक्कासहित २५ रनमा आउट हुँदा कुशल भुर्तेलले १६ बलमा ३ चौकासहित १९ रनको योगदान गरे ।

हर्मितसिंह १२ रन, र अनिल शाह १३ रनमा आउट हुँदा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: