राती ११ बजेपछि फिल्म देखाउन हललाई अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

यसैबीच, राती ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ । ‘उक्त समयमा फिल्म प्रदर्शन गर्नु परे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ’ जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि राती ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

चलचित्र क्षेत्रका समस्याको समाधानका सम्बद्ध निकायसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड तत्पर रहेको समेत अध्यक्ष भुवन केसीले बताएका छन् । फिल्म सेन्सर र रात्रीकालिन शोका कुरालाई लिएर चलचित्र संघले आन्दोलन घोषणा गरेको छ । यो सन्दर्भमा बोर्डको बैठकले संघको माग पुरा गर्नेतर्फ महत्वपूर्ण निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्