नव-निर्वाचित प्रतिनिधिसभाका दुईजना सदस्यहरू टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। टेकबहादुर गुरुङ नेपाली कांग्रेसबाट र लक्ष्मी महतो कोइरी नेकपा एमालेबाट निर्वाचित सांसद हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले उनीहरूको संसदीय भूमिकामा रोक लगाउनभन्दै पत्राचार गरेपछि संघीय संसद् सचिवालयले दुवै जनालाई निलम्बन गरेको हो । कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् भने एमाले सांसद कोइरी हत्या अभियोगमा फरार सूचीमा रहेका छन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) छाडी एमाले प्रवेश गरेका कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका हुन्।
सुशील कोइराला सरकारको बेला श्रम तथा रोजगार राज्यमन्त्री रहेका गुरुङमाथि काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि २०७५ माघमा मुद्दा दायर गरेको थियो । मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले भ्रष्टाचार अभियोग लागेका व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था गरेअनुरूप अदालतमा गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेकोले गुरुङ निलम्बनमा परेका हुन् ।
त्यस्तै, लक्ष्मी महतो कोइरीमाथि सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोग लागेको छ। उनीमाथि मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत बिकको अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ । सशस्त्र प्रहरीका असई बिक हत्या सम्बन्धी सुनुवाइमा कोइरीलाई थुनामा राखेर मुद्दा अघि बढाउन जनकपुर उच्च अदालतले आदेश दिएको थियो।


प्रतिक्रिया दिनुहोस्