पोखरा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फुटबलर एम्बाप्पे जस्तो मात्र भएको टिप्पणी गरेका छन् । पोखरामा जारी ‘लिटरेचर फेस्टिबल’ मा बोल्दै महामन्त्री शर्माले पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गरेका हुन् ।
‘राजनीतिमा सामाजको ऐना’ बहसमा मोडरेटर बसन्त बस्नेतले जितेर आएको कि हारेर भनेर प्रश्न सोधेका थिए । महामन्त्री शर्माले भने, ‘जितेर हारेर आएको । अस्ती वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’
उनले थपे, ‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं ।’ ५ वर्षपछि एम्बाप्लेले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’
देशभरबाट के भयो भनेर प्रश्न आउँदा आफूहरुले नहुनुपर्ने भयो, तर चिन्ता नगर्नुस् भन्ने गरेको महामन्त्री शर्माले बताएका छन् । यो टर्निङ प्वाइन्ट हुने भन्दै उनले गहिरो विश्लेषणका साथ अबको यात्रा तय गर्ने बताएका छन् । अर्का महामन्त्री गगनकुमार थापाले थपे, ‘एम्बाप्लेले जित्छ, किनकी अब मेसी हुन्न नि ।’ उनले अघि भने, ‘मेसी आएन भने ठीकै छ । मेसी र रोनाल्डो खेल्न आयो भने पनि लड्ने हो, भिड्ने हो र ढाल्ने हो ।’


प्रतिक्रिया दिनुहोस्