अत्यधिक चिसोका कारण अमेरिका र क्यानडामा अहिलेसम्मकै उच्च जोखिम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं–
अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरू जोखिममा परेका छन् । अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन् । खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलेको छ।

उक्त व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ। वायुमण्डलीय चाप घटेपछि अमेरिका(क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ।

क्यानडामा ओन्टेरियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगिरहेका थिए र त्यहाँ हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको थियो। ब्रिटिस कोलम्बियादेखि न्यू फन्डल्यान्डसम्म देशका अधिकांश भागमा चरम चिसो र हिमआँधीको चेतावनी दिइएको थियो।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले शुक्रवार जारी गरेको मौसमसम्बन्धी नक्सालाई जाडो मौसमको चेतावनी समेटिएको हालसम्मकै सबैभन्दा व्यापक चित्रण भएको बताएको छ। मोन्टानाको एल्क पार्कमा तापक्रम माइनस ४५ डिग्री सेल्सीअसमा झरेको छ भने मिशिगनको हेल सहर जमेको छ। उक्त सहरमा शुक्रवार राति हिउँले ढाकिएको क्षेत्रमा तापक्रम माइनस १७ डिग्री सेल्सीअस भएको थियो।

स्मिटीको हेल सलुनमा बारटेन्डर रहेकी एमिलीले बीबीसीलाई भनिन्, यहाँ धेरै चिसो छ, हामी एक खाले नर्कमा छौँ। साउथ डेकोटामा हिउँ क्षेत्रमा रहेका अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगा बालेर ताप्नुपर्ने अवस्था आएको आदिवासी अधिकारीहरूले बताए।
एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन्। न्यू इङ्गल्यान्ड, न्यूयोर्क र न्यूजर्सीमा तटीय बाढी पनि आएको छ।

चिसो आँधीसँग सम्बन्धित मृत्युमा सडक दुर्घटनाहरू समावेश छन्। उडानहरूबारे जानकारी दिने बेवसाइट फ्लाइटअवेयरका अनुसार शुक्रवार मात्र पाँच हजार ६ सय भन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array