काठमाडौँ – भारतले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ। नेपाललाई ५० हजार टन गहुँ ल्याउन अनुमति दिएको हो।
भारतीय दुतावासले परराष्ट्र मन्त्रालय मार्फत उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको हो।
पत्रमा ५० हजार टन गहुँ नेपालले आयात गर्न सक्ने उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले जानकारी दिए।
प्रवक्ता रेग्मीले भने-‘गहुँ आयातका लागि भारतले ५० हजार टनको स्वीकृति दिएको बुधबार जानकारी गराएको छ। यो सन् २०२३ मार्च (२०७८ चैत १७) सम्ममा ल्याइसक्नु पर्ने हुन्छ।’ यसअघि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो।
नेपालका लागि कति गहुँ आवश्यक पर्ने हो सोको विवरण पठाउन भारतले वाणिज्य मन्त्रालयलाई भनेका थियो। सो पत्रका आधारमा मन्त्रालयले व्यवसायीहरुसँग कति परिमाणमा गहुँ आवश्यक पर्ने हो विवरण माग गरेको थियो। सो विवरणमा उद्योगी र व्यवसायी गरि ८ लाख टन भन्दा बढि गहुँ माग गरेको थियो।
मन्त्रालयले व्यावसायीहरुलाई भारतको कुन व्यावसायीबाट गहुँ खरिद गर्ने हो सोको विवरण समेत माग गरेको थियो। अब व्यावसायी ५० हजार टन ननाघ्ने गरी प्रतित पत्र (एलसी) खोलेर गहुँ ल्याउनु पर्ने प्रवक्ता रेग्मीले बताए। रेग्मीका अनुसार मन्त्रालयले व्यावसायीका लागि भने कोटा नतोक्ने जनाएको छ।
गहुँसँगै चिनीको समेत विवरण माग गरिएपनि आयातमा कुनैपनि समस्या छैन। भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएसँगै नेपालमा मैदा तथा मैदा जन्य उत्पादनको मूल्य बढेको छ।


प्रतिक्रिया दिनुहोस्