काठमाडौँ – ‘विकिनी किलर’का उपनामले परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले आफूमाथि लगाइएका सबै आरोप झुटो रहेको दाबी गरेका छन् । शोभराजका कानुन व्यवसायी अधिवक्ता गोपाल शिवाकोटी ‘चिन्तन’का अनुसार उनले आफूविरुद्धका अभियोग गलत भएको जिकिर गर्दै आएका छन् ।
बिहीबार सुन्धारास्थित जगन्नाथदेवल कारागार परिसरमा पत्रकारसँग शोभराजको भनाइ उद्धृत गर्दै शिवाकोटीले भने, “मविरुद्ध लगाइएका आरोप, लेखिएका पुस्तक र सबै सामग्री झुटो हुन् । मेरो बदनाम बढी गरियो । म मेराविरुद्ध गरिएका गलत कार्यको अन्तर्राष्ट्रिय न्यायिक निकायमा जान्छु ।”
बुधबार (हिजो) सर्वोच्च अदालतले ७८ वर्षीय शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो । फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश गरिएको हो ।
कैद सजाय छुट पाउनुपर्ने भन्दै ०७५ कात्तिकमा शोभराजका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।
शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । उनीबाट भएका अधिकांश घटनामा महिला पीडित छन् ।
सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।
त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्