विराटनगरका व्यवसायीले गरे आन्दोलनको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्।

उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।

उद्योगी व्यवसायीहरूका दुई दर्जनभन्दा बढी संघ संस्थाहरूले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्।

‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं,’ उनीहरूले भनेका छन्, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं।’

उद्योगी व्यवसायीहरूले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ। चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ। अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ।
स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडकमा ओर्लने तयारी गरेका हुन्।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो। हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं।’

प्रतिक्रिया दिनुहोस्

Array