काठमाडौँ – पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।
मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकाका २ वटा, पोखरिया नगरपालिका, विपद व्यवस्थापन गुल्म र सखुवाप्रसौनी नगरपालिकाबाट आएका वारुण यन्त्रले आगो निभाउन नसकेपछि बाराको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका र देवताल गाउँपालिकाबाट समेत वारुणयन्त्र झिकाइएको थियो । वारुण यन्त्रसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा खटिएका थिए ।


प्रतिक्रिया दिनुहोस्